काठमाडौं, पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रकै नेताले प्रतिनिधिसभा विघटन गर्न बाध्य पारेको बताएका छन् ।

पर्वत सदरमुकाम कुश्माबजारमा नेकपा ओली समूहको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै गुरुङले सरकारलाई काम गर्न नदिएकाले संसद् विघटन गर्नुपरेको बताए ।

प्रचण्ड–नेपाल समूहका क्रियाकलाप राष्ट्रियताविरोधी भएको आरोप लगाउँदै गुरुङले मुलुक यो परिस्थितिमा ल्याउनमा दुई जनाको मुख्य भूमिका रहेको बताए । देश, सरकार र राष्ट्रियताविरोधी क्रियाकलाप भएको भन्दै उाले कुर्चीमोहले नेकपा विभाजनको सङ्घारमा पुगेको बताए ।

मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीलाई सधैँ अप्ठ्यारोमा पारेर काम गर्न नदिने प्रवृत्तिले ससद् भङ्ग गर्ने अवस्था आएको बताए । उनले मुलुकको सिमाना मिचिँदा आवाज उठाउने र गुमेको जमिन फिर्ता ल्याउने पक्षमा लाग्न आग्रह गरे । उनले आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव हुने भएकाले त्यसैको तयारीमा लाग्नसमेत नेता कार्यकर्तालाई निर्देशनसमेत दिए ।