काठमाडौं - कार्यस्थलमा हुने यौन दुर्व्यवहार वरुद्धको अभियान 'मीटू' मा आरोपीत चर्चित हलिउड सिनेमा निर्माता हार्वी विनस्टीनलाई अदालतले दोषी ठहर गरेको छ ।

हलिउड अभिनेत्री एन्जोलिना जोली र पाल्त्रोवलगायत किरब ८० भन्दा बढी हलिउडसँग जोडिएका महिलाले निर्माता विनस्टीनमाथि यौन उत्पीडन र बलात्कार गरेको आरोप लगाएका थिए ।

अदालतले लगातार पाँच दिनसम्मको बहसपछि विनस्टीनलाई 'फस्ट डिग्री' र 'थर्ड डिग्री' आपाराधिक यौन क्रियाकलापमा दोषी ठहर गरेको हो । अमेरिकाको कानून अनुसार उनलाई २५ वर्षसम्मको कारावास सजाय हुनसक्ने बताइएको छ ।

लस एन्जल्समा दुई महिलालाई बलात्कार र यौन हमला गरेको मुद्दा चलिरहेका  ६७ वर्षिय विनस्टीनमाथि कयौं आरोपहरू प्रमाणित हुन सकेका छैनन् ।

एन्जोलिनाले हलिउड प्रवेशको सुरुवाती समयमा हार्वीसँग भोग्नु परेका तीता अनुभवहरू सार्वजनिक गर्दै उनीसँग त्यसपछि कहिल्यै काम गर्न नसकेको आरोप मीटू अभियानमा लगाएकी थिइन् ।

पाल्त्रोवले 'एम्मा' को मुख्य भूमिकामा छानिएपछि हार्वीले एउटा होटलको बेडरुममा बोलाएर अनैतिक क्रियाकलाप गरेको घटना यसै अभियानमार्फत सार्वजनिक गरेकी थिइन्। अमेरिकाका चर्चित पत्रिकाहरू द न्यूयोर्क टाइम्स, न्यू योर्कर लगायतले हार्वीमाथि लागेका मीटूका आरोपहरूलाई स्थान दिएका थिए ।