चितवन - साउन महिनामा चितवनमा १०६ जनामा डेंगुको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४ सय ५३ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएको हो ।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार भेटिएका डेंगुका संक्रमितमध्ये ७८ जना चितवनका हुन् । तीमध्ये ६९ जना भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका– १, २ र ३ मा बढी संख्यामा डेंगुको जोखिम देखिएको केसीले जानकारी दिए । महानगरको कमलनगर, पुलचोक क्षेत्र बढी प्रभावित रहेको उनको भनाइ छ ।

डेंगुको संक्रमण देखिएका बिरामीमा टाउको दुख्ने, कम्मर दुख्ने, रक्तचाप परिवर्तन भइरहने, झाडाबान्ता हुनेलगायतका संकेत देखिन्छन्  ।

संक्रमण बढेसँगै डेंगुको प्रकोप फैलन सक्ने देखिएपछि कार्यालयले सबैलाई सतर्क रहनसमेत आग्रह गरेको छ । महानगरका १, २, ३, ४, १० नम्बर वडा डेंगुको उच्च जोखिममा रहेको कीट नियन्त्रक केसीले बताए । यी वडामा कबाडी पसल, ग्यारेज तथा वर्कशप र होटेल धेरै छन् । ती स्थानमा बढी डेंगुको जोखिम देखिएको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

आर्थिक वर्ष ०७५–७६ मा एक हजार ९ सय ५१ जनाको रक्त परीक्षण गरिएकोमा ३१ जनामा सो रोग देखिएको थियो । डेंगु रोग एडिस एजेप्टाइ नामको पोथी लामखुट्टेको टोकाइबाट लाग्दछ । यो लामखुट्टेको टोकाइबाट बच्न सकेमा डेंगुको संक्रमणबाट बच्न सकिने हुँदा सतर्क रहन केसीले सुझाव दिए ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा। भोजराज अधिकारीका अनुसार डेंगुको संक्रमण देखिएका बिरामीमा टाउको दुख्ने, कम्मर दुख्ने, रक्तचाप परिवर्तन भइरहने, झाडाबान्ता हुनेलगायतका संकेत देखिएका छन् । अघिल्ला वर्षमा तीन दिनमा मात्रै संक्रमण देखिने गरेको भए पनि अहिले शुरुकै दिनमा संक्रमण देखिने गरेको उनले बताए ।