काठमाडौं - नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका छन् ।

बिहीबार राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै नवननियुक्त मन्त्री गुरुङले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् । पद सम्हालेलगत्तै ‍मन्त्री गुरुङले बाल विवाह अन्त्य हुने गरी २ महिना भित्र राष्ट्रिय कार्ययोजना बनाउने प्रस्ताव पनि स्विकृत गरे ।

महिला र बालबालिका माथि हुने हिंसा अन्त्य गर्न सो प्रस्तावलाई अघि बढाउने गरी कार्ययोजना तय गर्न सो प्रस्ताव नवनियुक्त मन्त्री गुरुङले स्विकृत गरेका हुन् । त्यस अवसरमा बोल्दै उनले महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानुनहरुको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

नवनियुक्त मन्त्री गुरुङले महिला हिंसा, बाल विवाह गर्ने जस्ता सामाजिक विकृतिको अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने खालका कार्यक्रमलाई आफूले प्राथमिकता दिने योजना पनि अघि सारे ।

नवनियुक्त मन्त्री गुरुङलाई मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलगायतका पदाधिकारीले मन्त्रालयमा स्वागत गरे ।