एजेन्सी - पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अन्य मुलुकको युद्धमा आफ्नो देश सहभागी नहुन प्रस्ट पारेका छन् ।

प्रधानमन्त्री खानले पाकिस्तान युद्धको पक्षमा नरहेको र अन्य मुलुकले सुरु गर्ने युद्धमा सहभागी नहुने बताएका हुन् । इरान र अमेरिकाबीच तनाव चुलिरहेका बेला खानले बिहीबार यस्तो प्रतिक्रिया दिएका थिए ।

‘अन्य मुलुकको युद्धमा सहभागी भएर पाकिस्तानले विगतमा गल्ती गरेको छ त्यसैले हामी कुनै पनि युद्धमा सहभागी हुन्नौं’, खानले भने, ‘आज मैले आफ्नो विदेश नीति प्रस्त पार्न चाहन्छु- अन्य मुलुकको युद्धमा सहभागी हुने गल्ती हामीले दोहोर्‍याउने छैनौं ।’

त्यस्तै इरान र अमेरिकाबीच हुने कुनै पनि वार्ताको मध्यस्थता गर्न पाकिस्तान तयार रहेको समेत खानले बताए । साथै साउदी अरब र इरानबीचको मतभेद अन्त्य गर्न पनि आफू तयार रहेको भन्दै खानले भने- ‘इरान र साउदी अरबबीचको मैत्रीपूर्ण सम्बन्ध पुनः स्थापना गर्न हामीले प्रयास गर्ने छौं ।

‘साथै मैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरान र अमेरिकाबीचको मतभेद कम गर्नका लागि मध्यस्थता गर्ने बताएको छु’, खानले थपे ।

युद्धमा कसैले पनि नजित्ने खानको तर्क थियो । ‘युद्धबाट कोही पनि विजयी भएर निस्कन्न, विजयी हुनेहरू पनि पराजित हुन्छन्’, उनले भने, ‘आतंववादविरुद्धको युद्धमा सामेल भएर पाकिस्तानले निकै ठूलो मूल्यो चुकाएको छ,अबदेखि पाकिस्तानले युद्ध गर्नेछैन, सबै मुलुकलाई एकै ठाउँमा ल्याउने छ ।’