काठमाडौं – भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले सुरक्षाको लागि भन्दै नियन्त्रणमा लिएर छोडेको छ ।

ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा विवाद उत्पन्न भएपछि उनलाई सुरक्षाका लागि एकछिन नियन्त्रणमा लिएर छोडिएको ललितपुर प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार शाहीमाथि आक्रमण हुनसक्ने भन्दै सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो । पत्रकार सम्मेलनमा विवाद चर्किने देखिएपछि सुरक्षाका लागि एकछिन परिसरमा राखेर छाडिएको प्रहरीको भनाइ छ ।

शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण विमान उडान ढिलो भएको भन्दै शाहीले विरोध जनाएका थिए । उनले यही विषयमा पत्रकार सम्मेलन गर्दा विवाद भएको थियो ।