काठमाडौं -सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने भएको छ ।

नेपाली र चिनियाँ पक्षबीच मंगलबार सिन्धुपाल्चोकमा भएको द्वीपक्षीय बैठकपछि बन्द रहेको नाका खोलिन लागेको हो । यससँगै असोज १९ गतेदेखि चीनबाट सामान नेपाल आउनेछ ।

नाकाका विषयमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडिओ) उमेश ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच छलफल भएको थियो ।

स्वास्थ्य मापदण्ड पुरा गरेर नाकाबाट सामान आयात गर्न लागिएको सीडीओ ढकालले जानकारी दिए । नेपालतर्फ पहिरो खसेका कारण असार २४ गतेदेखि नेपालकै आग्रहमा तातोपानी नाका बन्द गरिएको थियो । तर सडक मर्मत सकिएपछि नेपालले आग्रह गर्दा तातोपानी नाकाभन्दा करिब ३५ किमिमाथि चिनियाँ भूभागमा रहेको ‘क्यानोन कु’ ताल विष्फोटन हुन लागेकोले त्यसको पानीको सहत घटाउने भन्दै नाका खोलिएको थिएन ।