काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का नेता तथा छाँया अर्थमन्त्री मिनेन्द्रप्रसाद रिजालले सरकारलाई प्रत्यक्ष कर उठाउने तरिका अबलम्बन गर्न सुझाएका छन् ।

मंगलबार बजेटमाथिको छलफलमा भाग लिंदै रिजालले भ्याटप्रतिको आधार घटाउँदै प्रत्यक्ष करमाथिको निर्भरता बढाउन सुझाएका हुन् ।

राजस्व कम हुँदा भ्याटलाई प्राथमिकता दिइएको बताउँदै रिजालले प्रत्यक्ष करमाथिको निर्भरता बढाउने नीति लिन सुझाए ।

उनले प्रत्यक्ष कर बढाउनको लागि प्यान नम्बरलाई कडाईका साथ लागु गर्दै अग्रिम कर कट्टि गर्ने संस्थाहरुको सबै रेकर्ड राख्नुपर्ने बताएका छन् । रिजालले प्रत्यक्ष करको दायरा नबढाई राजस्व नबढ्ने र समृद्धि पनि हाँसिल नहुने बताए ।

मिनेन्द्रप्रसाद रिजालले सरकारले भनेअनुसार राजस्व बढ्ने आधार नभएको बताएका छन् । उनले ३० प्रतिशत राजस्व बढ्ने विषय हावादारी भएको टिप्पणी गरे ।

‘हिजोसम्म राजस्व ६४२ अर्ब उठेको छ भन्ने आँकडा सार्वजनिक छ । ७७ प्रतिशत राजस्व उठाउँछु भनिएको छ ।’ रिजालले भने, ‘असार ९ गते भयो । आउने वर्ष पनि त्यो ढंगबाट राजस्व उठ्ने अहिलेसम्म कुनै छाँट देखिएन् ।’ रिजालले बजेट र अर्थ विधेयकले राजस्व बढाउने आधार प्रस्तुत नगरेको टिप्पणी गरे ।