काठमाडौं - पाकिस्तानमा घोषणा गरिएको लकडाउनको अवधि थप गरिएको छ ।  कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नुपरेको सरकारी अधिकारीहरुले बताएका छन् । पाकिस्तानी सरकारले आउँदो मे ९ तारिखसम्मका लागि लकडाउन रहिरहने घोषणा गरेको हो । 

केन्द्रीय योजना तथा विकास मन्त्री असद उमराले राष्ट्रिय नियन्त्रण केन्द्रले लकडाउनको समयावधि बढाउने निर्णय गरेको जानकारी दिए । देशव्यापी लकडाउन भइरहेको पाकिस्तानमा शुक्रबारसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ११ हजारभन्दा बढी भएको छ ।

सरकारी अधिकारीहरुका अनुसार सङ्क्रमित हुनेहरुको कुल सङ्ख्या ११ हजार ६ सय ५२ रहेको छ । त्यसैगरी देशभरि कोरोना भाइरसका कारण दुई सय ४२ भन्दा बढीको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै पञ्जाब प्रदेश प्रभावित भएको छ । त्यहाँ चार हजार आठ सय ५१ जना सङ्क्रमित भेटिएका छन् । महामारीविरुद्धको कतिपय मापदण्डहरुलाई पाकिस्तानमा कतिपय व्यक्तिहरुले बेवास्ता गरेको पाइएको छ ।  

शनिबारदेखि मुस्लिम धर्मावलम्बीहरुको एक महिने रमजान पर्व समेत सुरु भएकाले मुस्लिम समुदायको बाहुल्यता रहेको पाकिस्तानमा थप सतर्कता अपनाउन आह्वान गरिएको छ ।