काठमाडौं - आयुर्वेदको विकास क्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने जनाएको छ ।

वैद्यखानाका वरिष्ठ चिकित्सक तथा प्रबन्ध निर्देशक वंशदीप शर्माले बजारमा पाइने अनेक ब्रान्डका औषधिको भरपर्नुभन्दा घरमै उपलब्ध जडीबुटीले मानिसमा प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउन सक्ने प्रस्ट्याए ।पूर्वीय सभ्यताबाट निर्देशित आम नेपालीका घरमा विविध जडीबुटी पाइने भए पनि त्यसको सही उपयोग गर्ने बानी छैन ।

चिकित्सक शर्माका अनुसार गाउँघरतिर प्रयोग हुने जडीबुटीको प्रयोगमा चेतना जगाउनुपर्छ । उनले सहजै पाइने गुर्जो, तुलसी, लसुन, अदुवा, असुरोको पात, चमेली फूलको पात, पारिजातको पात, जाइको पात, कालो जिरा, बेसार लगायत स्थानीय रूपमा पाइने जडीबुटी रोग प्रतिरोधात्मक शक्ति बढाउन प्रयोग गर्न सक्छौँ भने।

यदि यी कच्चा पदार्थ सहजै उपलब्ध नभएको खण्डमा यिनै जडीबुटीका तìव समावेश गरिएका औषधि वैद्यखानामा उपलब्ध रहेको उनले जानकारी दिए तर तिनको उपयोग गर्न चिकित्सकको सल्लाह लिनुपर्छ । त्योभन्दा बढी जनमानसमा लाभकारी र सहज रूपमा उपलब्ध हुने कच्चा जडीबुटीलाई प्राथमिकता दिनुपर्नेमा उनी जोड दिन्छन् ।

शर्माले आँगनमै उपलब्ध तुलसीको पातसँग असुरो पात, थोरै बेसारका साथमा एक टुक्रा चन्दनको टुक्रा मिसाएर घरमै उमालेर बिहान बेलुका एक÷एक कप खाने गरेमा त्यसले रोग प्रतिरोधात्मक शक्ति बढ्छ, जुन ताजा हुन्छ र त्यसले दिने शक्ति शरीरले सहजै लिने जानकारी सुनाए । यदि भाइरल लागिसकेको अवस्था छ भने पनि त्यसले भाइरलको मात्रा घटाउन ठूलो मद्दत गर्छ ।

देखासिकी जङ्क फुड खाँदा, रहनसहनबाट प्रभावित हुँदा छिटो सङ्क्रमणले छुन्छ । आफ्नै प्राकृतिक र स्वदेशी जीवनशैलीले मानव स्वास्थ्य बलियो बनाउन सकिने कुरा वैद्यखानाका विज्ञले स्पष्ट पारेका छन् ।

खोप र औषधि नभएकाले विश्वभर कोरोना भाइरसबाट कसरी बच्ने भन्ने चर्चा व्यापक छ । विश्वमै चिकित्सकले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै अहिलेको मुख्य सावधानी भनेका छन् । विश्व स्वास्थ्य सङ्गठनले शरीरमा एन्टीबडी बलियो बनाउँदै भाइरस नसर्ने उपाय अवलम्बन गर्न सुझाएको छ ।

सावधानीका सवालमा मास्क, स्यानिटाइजरको प्रयोग, हात धुने, नजिक नबस्ने जस्ता उपाय आधुनिक चिकित्साले सुझाएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने सवालमा आधुनिक चिकित्साले औपचारिक रूपमा गतिलो उपाय दिएको छैन तर स्थानीय जडीबुटीको सही उपयोगले कोरोना लगायतका भाइरससँग लड्न सक्ने शक्ति बढाउने दाबी आयुर्वेद क्षेत्रले बारम्बार गरेको छ ।

कोरोना बढी संवेदनशील

सिंहदरबार वैद्यखानाले विश्वमा फैलँदो रूपमा रहेको कोरोनाको लक्षण र यसविरुद्ध गर्न सकिने सम्भावनाका बारेमा अध्ययन गरिरहेको छ ।

उनले कोरोना अन्य फ्लु जस्तै हो तर यो हातले छुँदा, सम्पर्कमा आउँदा सर्ने र आठ÷नौ दिनसम्म वातावरणमा बसिरहने भएकाले अलि संवेदनशील देखिएको छ भने। जसले गर्दा यात्रा गर्दा, बिरामीको संसर्गमा जाँदा, उसले छोएका साधनमा छुँदा सर्ने प्रवृत्ति देखिएको उनी बताउँछन्।

यो एक प्रकारको भाइरस भएकाले सामान्य सावधानी हुने उनी औँल्याउँछन् । बजारमा हल्ला चले जस्तो अतिरञ्जित नगर्न र हल्लाको पछि लाग्न नहुने उनले सुझाए । जस्तै मदिरा तत्व भएका स्यानिटाइजरले हात धुनु भन्ने आशयलाई यो पिउनु भन्ने बुझ्नु भएन । जडीबुटी पनि अत्यधिक होइन मात्रा मिलाएर लिनुपर्छ ।

नेपाल लगायत देशमा यस्ता फ्लु र भाइरस पहिले पनि आइरहेका छन् तर अन्य भाइरसको तुलना गर्दा अरूको चार–पाँच दिनमा त्यो आफैँ हटेर जाने गथ्र्यो । कोरोनामा भने अलि लामो समय रहनसक्ने क्षमता रहेकाले बढी सावधान हुनुपर्ने उनी स्पष्ट पार्छन्।

उनका अनुसार कोरोनाले हाम्रै गाउँघर र सहरतिर देखिने रुघोखोकी सहितको फ्लु देखिने लक्षण बोकेका हुनाले स्थानीय जडीबुटीबाटै पूर्व तयारीमा समाधान खोजिनुपर्छ ।

सामान्य भनेर हेलचेक्र्याइँ गर्नुभन्दा सावधानी अपनाउनु नै मानवका लागि फाइदाजनक हुने उनी उल्लेख गर्छन् । विशेष गरी वृद्धवृद्धा, गर्भवती महिला र बालबालिकालाई अझ बढी सचेत गराउनुपर्नेमा उनी जोड दिन्छन् । घरेलु उपायसँगै प्रशस्त झोलिलो पदार्थ प्रशस्त सेवन गर्न सुझाउँछन् ।

वैद्यखानामा पाइने भिटामिन ‘सी’ भएका औषधि, च्यावनप्राश, तुलसी चिया, गुर्जोको चूर्ण, अमला चूर्ण, सितोपलादी लगायत एन्टी भाइरलका लागि प्रभावकारी हुने उनी सिफारिस गर्छन् । यी पदार्थ अहिलेको अवस्थामा अझ बढी उत्पादन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

हाल बजारमा ११५ प्रकारका औषधि वैद्यखानाले पुर्‍याइरहेकोमा अबदेखि १२५ प्रकारका औषधि पुर्‍याउने क्रममा रहेको छ । हर्रो, बर्रो, अमला, तुलसी, निशोथ जस्ता जडीबुटी र गुग्गुल, आविपित्तकर चूर्ण, सितोपलादी लगायत औषधि वैद्यखानामा अत्यधिक खपत हुने गरेको छ ।

देश भित्रकै प्राकृतिक स्रोतमा निर्भर रहे पनि पछिल्लो समय सितोपलादीको माग पूर्ति गर्न कठिन छ । रोल्पा, डोल्पा क्षेत्रमा मात्र पाइने यो जडीबुटी उपलब्ध सरकारी तहमै गराउन सके अझ सहज हुने वैद्यखानाले जनाएको छ । वैद्यखानाले नेपालमै उपलब्ध १५० भन्दा बढी प्रजातिका जडीबुटीको सङ्कलन, प्रशोधनसँगै औषधि बनाउन उपयोग गर्दै आएको छ । 

गोरखापत्र दैनिकबाट