काठमाडौँ - संखुवावासभाको खाँदबारीबाटबाट दुई जना बिरामी लिएर धरानतर्फ आउँदै गरेको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।

मंगलबार राति धर्मदेवी नगरपालिकाको अक्करको भीरमा १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार एकै परिवारका ३ जनासहित ६ जना बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा  गाडी चालक सन्तोष विकसिहत मिर्गौलाका बिरामी प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर, र निमोनियाका बिरामीबालक समिर श्रेष्ठ, उनका बुबा संगम श्रेष्ठ र आमा सदीक्षा श्रेष्ठ रहेको प्रहरीले बताएको छ । 

बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याउने क्रममा गाडी दुर्घटना भएको हो।

जिल्ला अस्पतालबाट रिफर भएका बिरामी नै बोकेर गएको गाडी दुर्घटना भएको हो अथवा अरु नै गाडी दुर्घटना भएको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी सहायक निरीक्षक (असई) टंक बाह्रकोटीले जानकारी दिए ।

तर घटनाबारे विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ। अरुण खोलामा बाढीआएका कारण उनीहरुको खोजीमा समस्या भएको पनि प्रहरीले बताएको छ।