एजेन्सी - संयुक्त राज्य अमेरिकाका स्वास्थ्य अधिकारीहरूले आफ्नो देशमा कोरोना संक्रमितको संख्या दुई करोड भन्दा बढी रहेको हुनसक्ने अनुमान गरेका छन् ।

त्यसको सेन्टर्स फर डिजिजेज् कन्ट्रोल (सीडीसी)ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि भएकोभन्दा १० गुणा बढी हुनसक्ने बताएको हो । अमेरिकामा हाल संसारकै सबैभन्दा बढी २४ लाख जनामा संक्रमण देखिएको छ भने एक लाख २२ हजार ३ सय ७० जनाको ज्यान गइसकेको छ ।

‘अहिलेका लागि हाम्रो सबैभन्दा उत्कृष्ट अनुमान भनेको जति सङ्क्रमणहरू थाहा भएका छन् वास्तवमा ती हरेक संक्रमणमा अन्य १० सङ्क्रमण छन्’ सीडीसीका निर्देशक डा. रोबर्ट रेडफिल्डको भनाइ उल्लेख गर्दै विविसीले जनाएको छ ।

त्यसको कारण लक्षण देखिएकाहरूमा मात्र परीक्षण हुनु र अन्यमा नहुनु भएको रेडफिल्डको भनाइ छ । उनले भने, ‘हामीले अपनाएको विधिका आधारमा मार्च, एप्रिल र मे महिनामा हामीले सम्भवतः महामारीको १० प्रतिशत मात्र पहिचान गर्न सक्यौँ होला ।’

उनले पाँचदेखि आठ प्रतिशतसम्म जनसंख्या भाइरसको सम्पर्कमा आइसकेको भन्दै अमेरिकीहरूलाई सामाजिक दूरी कामय गर्न, मास्क लगाउन र हात धुन आग्रह समेत गरे ।

केही दिनदेखि केही दक्षिणी र पश्चिमी राज्यहरूले सर्वाधिक सङ्क्रमण भएको विवरण सार्वजनिक गरिरहेका छन् । वाशिङ्गटन विश्वविद्यालयले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेको छ । विश्व विद्यालयका ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाए त्यो संख्या १ लाख ४६ हजारमा सिमित हुन सक्छ ।