काठमाडौं,दाङ - लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङस्थित राप्ती नदीमा बनेको पक्की पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल उनले उद्घाटन गरेका हुन् ।

पुल उद्घटन सकेपछि राप्ती गाउँपालिका २ लालमटीयामा आयोजित सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

झण्डै एक वर्षअघि निर्माण सम्पन्न भएको पुलको उदघाटन आज गरिएको हो । पुलको शिलान्यास तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए ।

पुलको लम्बाइ ८ सय ६० मिटर र चौडाइ साढे १० मिटर रहेको छ । करिब एक अर्ब रुपैयाँ लागतमा पुल निर्माण भएको हो । पुल बनेपछि सिसहनियाँ महदेवा वारपार गर्न देउखुरीबासीलाई सहज भएको छ । पुल बनेपछि पहिले डेढ घन्टा हिडनुपर्ने ठाँउ १५ मिनेटमै पुगिने भएको छ ।