काठमाडौं - इन्टरनेट सेवा प्रदायकहरुले आजबाट इन्टरनेटको मूल्य वृद्धि गरेका छन् ।

सरकारले इन्टरनेट सेवा प्रदायकहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आइस्पानको निर्णयअनुसार मुलुकभरका सेवा प्रदायकहरुले १३ प्रतिशत मूल्य वृद्धि गरेका हुन् ।सरकारले वृद्धि गरेको १३ प्रतिशत शुल्क उपभोक्ताबाटै उठाउने निर्णय आइस्पानले गरेको हो ।

संसद्ले पारित गरेको आर्थिक ऐनमा इन्टरनेट सेवा प्रदायकले उपभोक्ताबाट दूरसञ्चार सेवा शुल्कबापत १३ प्रतिशत रकम संकलन गरी भ्याटसँगै तिर्नुपर्ने व्यवस्था छ ।यो वर्षको बजेटमा पनि सरकारले यही प्रावधानलाई अघि बढाएको छ ।गत वर्षदेखि नै सरकारले इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने निर्णय गरेको थियो ।

व्यवसायीको तीव्र विरोधपछि सरकारले व्यवसायीसँग मूल्य नबढाउन सम्झौता गरेको थियो । तर, सरकारले सम्झौता पालना नगरेको भन्दै व्यवसायीले मूल्यवृद्धि गरेका हुन् ।