सिड्नी - अष्ट्रेलियामा भएको विमान दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । एनएसडब्लु राज्यमा लागेको डढेलो नियन्त्रणको लागि उडेको आरएफएर हवाई ट्याङ्कर दुर्घटना भएको हो । 

एनएसडब्लु रुरल फायर सर्भिससँग सी–१३० हरक्युल्स स्थानीय समयअनुसार दिउँसो १ः३० बजेबाट सम्पर्कबिहिन भएको थियो । उक्त विमान सोइ पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बुझिएको छ । 

उक्त विमानलाई रुरल फायर सर्भिस (आरएफएस)ले डढेलो नियन्त्रणको लागि भाडामा लिएको थियो ।

घटनाको बारेमा आरएफएसका कमिस्नर सेन फिट्जिमोन्सले घटना भिजिविलिटी नभएको कारण घटेको हुनसक्ने बताएका छन् । उनले भने ‘दुखका साथ भन्नुपर्छ विमानमा रहेका तीन जनाकै निधन भएको छ ।’ उक्त विमानले १५ हजार लिटर पानी बोक्ने क्षमता राख्थ्यो ।

डढेलोकै कारण अष्ट्रेलियाको राजधानी क्यानबेरास्थित विमानस्थल बन्द भएको छ । बिहीबारको तापक्रम अत्यधिक भएपछि डढेलो फैलदै विमानस्थल नजिकै आएपछि उडान तथा अवतरण रद्द भएको हो । अधिकारीहरुका अनुसार दक्षिण र पूर्वका क्षेत्रहरूमा फेरि डढेलो फैलिएको छ ।