इलाम - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने आफ्नो कुनै उद्देश्य नरहेको बताएका छन् ।

इलाम सदरमुकाममा शनिबार बिहान पत्रकारसँग कुरा गर्दै उनले अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा आफुले राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको बताए ।

‘म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु’, उनले भने, ‘कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोले भन्नु निराधार हुन्छ ।’

गत साता नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्केपछि चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कारण नेपाल कूटनीतिक चक्रमा फँस्न पुगेको हो ।

एशिया प्रशान्त क्षेत्रमा अमेरिकाले अघि सारेको महत्वकांक्षी रणनीति ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ र चीनको अघि बढाएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबीचको घर्षणले पैदा गरेको कुटनीतिक दबाबको सन्दर्भमा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।

यसअघि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ सम्बन्धमा भएको कुराकानीलाई लिएर अमेरिकी राजदूतले आपत्ति जनाएका थिए ।

अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री यीबीचको भेटघाटमा नेपालले इन्डो–प्यासिफिक रणनीतिबाट हट्ने प्रतिबद्धता जनाएको भन्ने आशयको विज्ञप्ति चिनियाँ विदेश मन्त्रालयले जारी गरेपछि पछिल्लो रस्साकस्सी चलिरहेको छ ।