काठमाडौं -  भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काएर नयाँ भवन बनाउन संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ ।

मंगलबार बसेको संसदीय समितिको बैठकले सो भवन रेट्रोफिटिङ गरेर प्रयोगमा ल्याउन सक्ने अवस्था कम भएको भन्दै भत्काएर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो ।

सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्तावअनुसार समितिले सो निर्देशन दिएको हो । समितिको निर्देशनसँगै ४ वर्षदेखि रेट्रोफिटिङ गर्ने कि भत्काएर नयाँ बनाउने भन्नेमा देखिएको अन्योल हटेको छ । सिंहदरबारभित्र रहेको सो भवन अन्योलताकै कारण प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ । 

विदेशी पाहुना आउँदा मिटिङ गर्ने, डिनर गर्ने हल चाहिने परराष्ट्र मन्त्रालयको माग रहेकोले उक्त भवनलाई भत्काएर स्टेट हाउस/गेस्ट हाउस बनाउने जनाइएको छ ।