सर्लाही – विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन् । 

जंगलबाट ल्याएको च्याउ आइतवार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीका पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ । 

बिरामी पर्नेमा माझीका ५५ वर्षीया पत्नी राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८ वर्षीय बुहारी सविता माझी, ६ वर्षीया नातिनी रिन्कु माझी, ४ वर्षीय नाति अविनाश माझी, ३१ वर्षीय माइला छोरा बिल्टु माझी, उनकी २७ वर्षीया पत्नी अञ्जुदेवी माझी, बिल्टुका १० वर्षीय छोरा अमित माझी, ५ वर्षीया छोरी प्रियंका माझी र ३ वर्षीया छोरी मेनुका माझी रहेको प्रहरीले जनाएको छ । 

बिरामी भएका बृजकुमार माझीलाई स्थानीय अमृत हेल्थ केयर बयलबासमा उपचारपश्चात् घर पठाइएको छ भने बाँकी ११ लाई आइतवार राति उपचारका लागि जनकपुर पठाइएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

बिरामी परेकाहरूको आर्थिक स्थिति कमजोर रहेका कारण वडा कार्यालय र प्रहरीको सहयोगमा बिरामी परेकालाई जनकपुर पठाइएको प्रहरी नायब उपरीक्षक राठौरले बताए ।