एजेन्सी - तेजाब पीडित एक युवतीको कथामा आधारित चलचित्र ‘छपाक’ १० जनवरीदेखि प्रदर्शनमा आउने भएको छ ।

बलिउड अभिनेत्री दीपिका पादुकोण उक्त चलचित्रमा तेजाब आक्रमण पीडित बनेकी एक युवतीको भूमिकामा देखिएकी छन् । प्रदर्शन मिति नजिकिँदै गर्दा यस चलचित्रका बारेमा निकै चर्चा भइरहेको छ ।

चलचित्रमा अभिनेत्री दीपिकाको भूमिका र लुक्सलाई धेरैले प्रशंसा गरेका छन् । उनले तेजाब आक्रमणमा पीडित बनेकी युवतीको अनुहार देखाउन निकै मिहिनेत गरेकी थिइन् ।

चलचित्रमा देखिने अनुहारको मास्क र त्यसको सेटअप मिलाउ नै कम्तीमा तीन घन्टा लाग्ने गरेको उनले जनाएकी छन् । कतिपय कलाकारले आफ्ना अभिनीत चलचित्रसँग सम्बन्धित चिजलाई सम्हालेर राख्ने गरेको पाइन्छ । तर, अभिनेत्री दीपिकाले भने यस चलचित्रमा लगाएको मास्क जलाइदिएको बताएकी छन् । हालै एक कार्यक्रममा उनले यो कुराको जानकारी दिएकी हुन् ।

उनले सुटिङको अन्तिम दिन उक्त मास्क जलाएकी बताएकी हुन् । यो मास्क लगाएर सुटिङ गरून्जेल उनलाई बेग्लै अनुभूति भएको र ती अनुभव आफूसँग नरहून् भनेर मास्क जलाएको सुनाइन् ।

यस्तो मास्कको मूल्य निकै महँगो पर्ने गर्छ । कलाकारले बनाएका यस्ता मास्कका निम्ति निर्माताले ठूलै रकम तिर्नुपर्छ । तर, चलचित्र ‘छपाक’ की सहनिर्माता समेत रहेकी अभिनेत्री दीपिकाले महँगै भए पनि उक्त मास्क लिएर जलाएकी हुन् ।

उनले मास्क जलाएर भावनात्मकरूपमा आफूलाई सहज भएको बताइन् । लक्ष्मी अग्रवाल नामक युवतीको जीवनीमा आधारित उक्त चलचित्रलाई मेघना गुलजारको निर्देशनमा बनेको हो ।

१५ वर्षको उमेरमा लक्ष्मीलाई एक पुरूषले आफ्ना दुई साथीसँग मिलेर तेजाब प्रहार गरेका थिए । सो घटनापछि लक्ष्मी तेजाब हिंसाविरूद्धको अभियानकर्ता बनेकी छन् ।