काठमाडौं - एजेन्सी युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै राजस्थानले लगातार दोस्रो जित निकालेको हो ।

सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पन्जाबले २० ओभरमा २ विकेट गुमाउँदै २ सय २३ रन बनायो । पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

पन्जाबको फराकिलो स्कोरमा मायांक अग्रवालले १ सय ६ रनको शतकीय इनिङ्स खेले । आईपीएलको यस सिजन शतक बनाउने दोस्रो खेलाडी बनेका मायांकले ५० बलमा १० चौका र ७ छक्का प्रहार गरे । जितसँगै राजस्थानले २ खेलमा ४ अंक जोडेको छ ।

राजस्थान तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । पन्जाबको यो दोस्रो हार हो ।

पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले हराएको थियो । तर, पन्जाब दोस्रो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । तेस्रो स्थानको पन्जाबले २ खेलमा २ अंक जोडेको छ ।