दैलेख - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दैलेखको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारको टोलीले नौमुले गाउँपालिका १ स्थित भैरव माध्यामिक विद्यालयका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंहलाई ३० हजार घुससहित नियन्त्रणमा लिएको हो ।

प्रधानाध्यापक सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर बस्नेतले उक्त विद्यालयका शिक्षकको चौमासिक तलब र दसैं खर्चवापतको रकम उपलब्ध गराउन शिक्षकसँग पटक(पटक घुस मागेको उजुरी र सूचनाका आधारमा पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले प्रधानाध्यापक सिंहलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

घुस रकम लिइसकेको अवस्थामा प्रधानाध्यापक सिंहलाई नौमुले गाउँपालिका १ स्थित एनएमबी बैंक शाखाको शाखा प्रबन्धकको कार्यकक्षबाटै नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान थालिएको अख्तियारले जनाएको छ।