काठमाडौं - डच क्लब आयाक्सले च्याम्पियन्स लिग छनोट खेलमा फ्रेन्च क्लब लिलेलाई २–० गोलले हराएको छ । समूह ‘एच’ अन्तर्गत बुधबार राति भएको खेलमा आयाक्सलाई जिताउन हाकिम जियाचले दोस्रो र क्वीन्सी प्रोमेसले ५९औं मिनेटमा गोल गरे । 

जितसँगै पाँच खेलबाट १० अंक बनाएको आयाक्स शीर्ष स्थानमा छ । आयक्सको छनोट सम्भावना बलियो छ । एक अंक बनाएको लिले अन्तिममा छ । यही समूहको अर्को खेलमा इङ्लिस क्लब चेल्सी र  स्पेनिस क्लब भ्यालेन्सियाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

बराबरीसँगै दुवै टोलीले छनोटको सम्भावना कायम राखेका छन् । घरेलु टोली भ्यालेन्सियाका लागि कार्लोस सोलेरले ४०औं र ड्यानियल वासले ८२औं मिनेटमा गोल गरे । 

चेल्सीका माटियो कोभासिसले ४१औं र क्रिस्टियन पुलिसिसले ५०औं मिनेटमा गोल गरेका थिए । बराबरीसँगै दोस्रो स्थानमा रहेको भ्यालेन्सियाले पाँच खेलबाट आठ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको चेल्सीको समान आठ अंक छ ।