काठमाडौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मंसिरमा महाधिवेशन गर्ने विषयमा आफ्नो सहमति नभएको बताएका छन् ।

आज बिहान आफ्नो निवासमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

नेकपा अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरिएपनि त्यस बिषयमा आफू सहमत नभएको नेताहरुलाई ब्रिफिङ गरेका हुन् ।

अध्यक्ष दाहालले बाहिर आफूले पनि मंसिरमा महाधिवेशन गर्ने भन्नेबारे सहमति गरिसकेको भन्ने समाचारहरु आएपछि आफ्नो सचिवालयमार्फत कुनै सहमति नभएको जानकारी समेत गराएको बताए ।

पार्टीभित्रको विवादले विभाजनको अवस्थासम्म पुगिसकेपछि समस्या समाधानको जिम्मा प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई दिइएको छ ।

तर, ओली र दाहालबीचको वार्ताबाट निकास निस्कन नसकेपछि हिजो सचिवालयको बैठक बसेको थियो । हिजोको बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेपछि स्थायी कमिटीमा कसरी अघि बढ्ने भन्नेबारेमा दाहाल–नेपाल पक्षबीच छलफल भएको हो ।