काठमाडौं - एन आई सी एशिया बैंकले आर्थिक वर्ष २०७६/0७७का लागि २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

मंगलबार बसेको बैंकको संचालक समितिको ४६० औं बैठकले आ.व. २०७६/0७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश (रू. १ अर्ब ९४ करोड ३५ लाख) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश मध्ये १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय भएको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २३ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पुरा गरी बैंकका शेयरधनीहरूलाई वितरण गरिनेछ।

बैंकले ग आ.व. २०७६/0७७ मा प्रति शेयर आम्दानी रू. ३१.८९ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा ज्यादै कम वाणिज्य बैंकहरू मध्ये यस बैंकले २.४९ प्रतिशत (रू. ७.५२ करोड) को वृद्धि सहित रू. ३ अर्ब ९ करोड आर्जन गर्न सफल भएको थियो । बैंकको स्व–पुँजीमा प्रतिफल (RoE) १९.२६ प्रतिशत रहेको छ र यस बैंक स्व–पुँजी प्रतिफलमा मुलुकका निजी क्षेत्रका बैंकहरू मध्ये प्रथम बैंक रहन सफल भएको छ ।

बैंकको आ.व. २०७६/0७७ मा कुल कर्जामा बजार अंश ६.२० प्रतिशत रहेको छ भने वार्षिक बिन्दुगत आधारमा रू. २४ अर्बले वृद्धि गरी कुल कर्जा रकम रू. १७४ अर्ब पुगेको छ । जुन वाणिज्य बैंकहरूको गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल कर्जा वृद्धि रकमको ७.४१ प्रतिशत रहेको छ । समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १३ प्रतिशत (करिब रू. ३२१ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले कर्जा वृद्धि भएकोमा यस बैंकले १६ प्रतिशत (रू. २४ अर्ब) ले कर्जा वृद्धि गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धि मध्ये सबैभन्दा उच्चतम वृद्धि हो ।

साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको अन्त्यमा बजार अंश ६.२० प्रतिशत रहेको छ भने वार्षिक बिन्दुगत आधारमा रू.३८ अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन रू. २११ अर्ब पु-याउन बैंक सफल भएको छ । जुन वाणिज्य बैंकहरूमा गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल वृद्धिको ७.३ प्रतिशत रहेको छ । समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १६ प्रतिशत (करिब रू.४८३ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि भएकोमा यस बैंकले २२.५० प्रतिशत (रू.३८ अर्ब) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि गर्न सफल भएको छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्य अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला कर्जा, रिटेल कर्जा र प्रत्यक्ष विपन्न वर्ग कर्जामा रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । बैंकले अवलम्वन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकको प्रमुख १० ग्राहक महानुभावहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जुन समग्र बैंकिङ्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्दछ ।

गत आर्थिक वर्षमा बैंकले चल्ती तथा बचत निक्षेप (CASA) तर्फ रू. २२.१२ अर्बले वृद्धि गरी CASA मिश्रणको प्रतिशत ४५ पु-याउन सफल भएको छ जुन समग्र वाणिज्य बैंकहरूको औषत करिब ४४ प्रतिशतको तुलनामा १ प्रतिशत विन्दुले बढी भएको बैंकले जनाएको छ ।