काभ्रे - कोरोना भाइरसको सङ्क्रमणबाट बच्न काभ्रेपलाञ्चोकको चौरीदेउराली, तेमाल र रोशी गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको टोलीले आआफ्ना स्थानीय तह प्रवेश गर्ने मुख्य नाकामा स्वास्थ्य परीक्षण गरेर मात्रै शहरबाट गाउँ फर्केकालाई गाउँ प्रवेश गर्ने व्यवस्था मिलाएको छ ।

जिल्लाको विकट कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाले भुम्लु गाउँपालिकासँगको समन्वयमा दोलालघाटमा स्वास्थ्यकर्मीसहितको टोलीले शहरबाट गाउँ प्रवेश गर्नेको आवश्यक स्वास्थ्य परीक्षण गरेर मात्रै गाउँ प्रवेश गर्न लगाउने पूर्वतयारीको काम थालनी गरेको जनाएको छ ।

त्यस्तै सो पालिकाले आफ्नो पालिका प्रवेश गर्ने मुख्य नाका तेमालवेशीको खहारेघाट र गाउँपालिका केन्द्र ढाँडखर्कमा हेल्थ डेस्क स्थापना गर्ने काम भइरहेको वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमले बताए । त्यससँगै पालिकाभित्र रहेको धुलिखेल अस्पतालको शाखा माझीफेदा, कातिकेदेउरालीका साथै वडा नं २ नार्गेगगर्चेमा रहेको बाल तथा महिला विकास केन्द्र ९डिसिडब्लुसी० अस्पताल र ढाँडखर्कमा रहेको धुसेनी शिवालय प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीलाई पनि उच्च सतर्कताका साथ रहन निर्देशन दिइएको छ । सबै स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई उच्च सतर्कतामा रहन पालिकाले निर्देशन दिएको उनले बताए ।

पालिकाका सबै स्वास्थ्यचौकीको सक्रियतामा कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा धुसेनी शिवालय प्राथमिक अस्पतालका डाक्टर आसुन केसी नेतृत्वले स्थानीय बासिन्दालाई जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको गौतमले बताए । साथै पालिकाले सबै स्वास्थ्यकर्मीलाई बिदा नदिने र बिदामा बसेकालाई समेत तत्काल सेवा क्षेत्रमा फर्काउने निर्णय गरेको उनले बताए ।

त्यस्तै उता तेमाल गाउँपालिकाले पनि पालिका प्रवेश गर्ने मुख्य नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण शुरु गरिसकेको छ । शहरबाट गाउँ फर्केका बस तथा मोटरसाइकललगायतका साना सवारीसाधनमा आउनेले समेत अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गरेर मात्रै गाउँपालिका प्रवेश गर्ने गरी शुक्रबारबाट स्वास्थ्य परीक्षणको व्यवस्था शुरु गरिसकेको गाउँपालिका अध्यक्ष सलामसिं तामाङले बताए ।

“शुक्रबार नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको सिमानामा पर्ने तेमालको का्लीमाटी डाँडामा स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले उद्घाटन गर्नुभई स्वास्थ्य परीक्षण शुरु गरिसकेका छौँ”, अध्यक्ष तामाङले भने “पाँचखाल नगरपालिका र तेमाल गाउँपालिकाको सिमाना बोहरे दोभानमा हेल्थ डेस्क निर्माण गरिरहेकाले आजबाट परीक्षण शुरु हुनेछ ।” गाउँपालिका स्वास्थ्य शाखा संयोजक शिवहरि पाठकको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरिसकेको तामाङले बताए ।

रोशी गाउँपालिका प्रवेश गर्ने नाका शिखरआम्बोटे, कटुञ्जे र मङ्गलटारमा हेल्थ डेस्क स्थापना गर्ने शुक्रबार बसेको गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष दलबहादुर लामाले शहरबाट गाउँ फर्केकाको स्वास्थ्य परीक्षण शुरु गर्ने निर्णय गरेको बताए ।

जिल्लाको विकट महाभारत र खानीखोला गाउँपालिकामा भने स्वास्थ्यकर्मीको अपर्याप्तता र जाँच गर्ने प्रविधिको उपलब्धता नभएको कारण हेल्थ डेस्क स्थापना नभएको जनाएको छ । स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जिल्लाका सबै अस्पतालका साथै मेथिनकोट अस्पताललाई उच्च सतर्कतामा राखेर आवश्यक तयारीको काम भइरहेको बताए । उनका अनुसार जिल्लाको पाँचखाल र बनेपा नगरपालिकाले पनि शुक्रबार हेल्थ डेस्क स्थापना गरिएको छ ।