रौतहट - प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा श्रीमतिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले गौर नगरपालिका वाड नं. ५ कोइरीटोल बस्ने जरिना खातुनलाई आफ्नै श्रीमानको हत्या गरेको आरोपमा बिहीबार पक्राउ गरेको हो ।

जरिनाले कार्तिक ४ गते ३५ वर्षीय श्रीमान इस्लाम अन्सारीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । जरिनाले घरायसी विवादका क्रममा प्लाष्टिकको डोरीले घाँटी कसेर इस्लामको हत्या गरेको प्रहरीको भनाइ छ ।

इस्लाम र जरिनाबीच प्रायः घरायसी झगडा हुने गरेको र सोही क्रममा कात्तिक ४ गते राति ११ बजे दुबैबीच वादविवाद भएको थियो । विवादकै क्रममा खातुनले आवेशमा आई प्लाष्टिकको डोरीले घाँटीमा कसेर इस्लामको हत्या गरेको प्रहरीले बताएको छ ।

जरिनाले घटना लुकाउन छिमेकीलाई श्रीमानले मादक पदार्थ सेवन गरी लडेको कारण अस्पताल लैजान हार गुहार गरेको खुल्न आएको समेत प्रहरीले जनाएको छ ।

अन्सारीले अत्याधिक मादक पदार्थ सेवन गरी सुत्ने खाटबाट लडी घाइते भएको र जिल्ला अस्पताल गौर उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको भन्ने सूचनाको आधारमा शंका लागेर प्रहरीले अनुसन्धान गरेको थियो ।अनुसन्धान टोलीले घटनास्थल र शव जाँच मुचुल्का समेतको कार्य सम्पन्न गर्दा उक्त मृतक लाश शंकास्पद देखिएकोले सो घटनाको थप अनुसन्धान गर्ने क्रममा मृतक इस्लामको हत्या भएको खुल्न आएको हो । अभियुक्त जरिनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्गा गरी अनुसन्धान भइरहेको छ ।