काठमाडौं, एजेन्सी - भारतविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज एक खेल अगावै अष्ट्रेलियाले जितेको छ ।

सिड्नीमा आइतबार भएको दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अगावै सिरिज आफ्नो पोल्टामा पारेको हो ।

सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको ३ सय ९० रनको विशाल लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३८ रन मात्र बनाउन सक्यो ।

भारतका लागि कप्तान विराट कोहलीले ८९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् ।

यस्तै केएल राहुलले ७६ रनको अर्धशतकीय इनिङ्स खेल्दा श्रेयस एयरले ३८ रन बनाए । शिखर धवन ३० रन, मायांक अग्रवाल र हार्दिक पाण्डयले २८/२८ रन बनाए । रबिन्द्र जडेजाले २४ रन जोडे ।

अष्ट्रेलियाका लागि पाट कुमिन्सले ३ विकेट लिए । जोस हाजलउड र एडम जाम्पाले २/२ विकेट लिए । यसअघि ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनाएको थियो ।

स्टिभ स्मिथले शतकीय इनिङ्स खेले । लगातार दोस्रो खेलमा शतक बनाएका स्मिथले १ सय ४ रन बनाए । पहिलो खेलमा स्मिथले १ सय ५ रन बनाएका थिए ।

यस्तै, डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेल्दै ८३ रन बनाए । मार्नुस लाबुसेनले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान आरोन फिन्चले ६० रनको अर्धशतकीय इनिङ्स खेले । अर्धशतकीय इनिङ्स खेलेका ग्लेन म्याक्सवेल ६३ रनमा अविजित रहे ।

भारतका मोहमद शामी र हार्दिक पाण्डयले १/१ विकेट लिए । जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा २-० को अग्रता समेत बनाएको छ । दुई टिमबीचको अन्तिम तथा तेस्रो एकदिवसीय खेल बुधबार हुनेछ ।