काठमाडौं - बलात्कारको आरोप लागेका सिद्धबाबा जगतगुरु कृष्णदासजी महाराजलाई आइसियुमा भर्ना गरिएको छ ।

सिद्धबाबालाई स्वास्थ्यमा समस्या देखिएको भन्दै आइसियुमा भर्ना गरिएको हो । यस्तै आइसियुमा भर्ना हुनुपूर्व उनले सार्वजनिक भएको अडियो टेप रेकर्ड आफ्नो नभएको दाबी गरेका छन्। आइतबार सञ्चारकर्मी समक्ष उनले भने, ‘सार्वजनिक भएको अडियो मेरो होइन, यसको सत्यतथ्य छानबिन गरी वास्तविकता पत्ता लगाउन आग्रह छ।’ उनले आफूलाई फसाउने प्रयास भएको बताए।

‘मलाई फसाउने खेलमा विभिन्न प्रपन्च रचिएको छ। यसमध्ये यो पनि एक हो। सार्वजनिक भएको आवाज मेरो होइन्, बुझिदिनुस्। सो आवाज मेरो जस्तो बनाइएको छ’, उनले भने ।

बलात्कार आरोप लागेपछि गत बिहीबार विराटनगरस्थित विराटनगर अस्पतालमा भर्ना भएका कृष्णदासजीलाई स्वास्थ्य अवस्थाका कारण आइसियुमा भर्ना गरिएको अस्पतालका प्रशासन प्रमुख पदम विनारीले जानकारी दिए। विनारीका अनुसार, हाल उनलाई आइसियुको १० नम्बर बेडमा भर्ना गरिएको छ।