काठमाडौँ - एसिसी यु १९ एसिया कपको खेलमा नेपालले युएईलाई पराजित गरेको छ । मंगलबार श्रीलंकाको कटुनाएकेमा सम्पन्न खेलमा नेपाल १६० रनले विजयी भएको हो । 

सुरुमा व्याटिङ गरेको नेपालले २८५ रनको लक्ष्य दिएको थियो । २८६ रनको लक्ष्य पछ्याएको युएईले ३४.४ ओभरमा १२५ रन बनाउँदा सबै विकेट गुमाएपछि नेपालको फराकिलो अन्तरको जित भएको हो । 

नेपालको लागि बलिङमा सागर ढकालले ३ विकेट लिए। यस्तै पवन सर्राफ, सूर्य तामाङले र रसिद खानले २–२ साथै कमल सिंह ऐरीले १ विकेट लिए।

टस हारेको नेपालले पहिला ब्याटिङ गर्ने निम्तो पाएको थियो । नेपालको ओपनिङमा रित गौतम र पवन सर्राफ रन नबनाई आउट भएका थिए। त्यसबाट दबाबमा परेको नेपाली ब्याटिङ आसिफ शेख र रोहित पौडेलले केही उकासेका थिए। आसिफले ५४ बलमा ४५ रन, रोहितले ८३ बलमा ६७ रन, सन्दीपले ५३ बलमा ४८ रन, रसिदले ४६ बलमा ४४ रन साथै कमलले २५ बलमा ४१ रन बनाए। यस्तै कुशल मल्लले २१ बलमा २२ रन बनाए। नेपालले निर्धारित ५० ओभर पूरा खेलेर ९ विकेट जाँदा २८५ रन बनाएको थियो।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले तथा दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।