बारा - शिक्षक बनाईदिन्छु भन्दै ६१ लाख रुपैयाँ ठग्ने प्रधानाध्यापकलाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा जितपुर सिमरा उपमहानगरपालि ८ को सामुदायिक प्राथमिक विद्यालयका प्रधानाध्यापक अनिल कुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार रौतहटको माधव नारायण नगरपालिकाका ठाकुरले पर्सा र रौतहटका २० जनालाई शिक्षक बनाइदिने भन्दै प्रतिव्यक्ति २ लाख देखी ५ लाखसम्म रकम लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

ठाकुरले रकम लिएका व्यक्तिलाई नक्कली नियुक्तिपत्र समेत प्रदान गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी कार्यलयले जनाएको छ ।