काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पेस भएको महाभियोग प्रस्तावमाथि त्यहाँको सिनेटमा सुनुवाइ सुरु भएको छ ।

ट्रम्पमाथि लगाइएको महाअभियोगबारे भइरहेको छलफलमा निर्णायक उनी आवद्ध दल रिपब्लिकन पार्टी हावी हुनेछ, किनकी सिनेटमा उसको बहुमत छ । दुई प्रस्ताव विफलपछि रिपब्लिकन तथा डेमोक्र्याटहरू महाभियोग प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा अहिले बहस गरिरहेका बीबीसीले खबर लेखेको छ ।

ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनको साथ मागेर पद दुरुपयोग गरेको आरोप लागेको छ । पूर्वउपराष्ट्रपतिसमेत रहेका जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा फसाउन युक्रेनी समकक्षीलाई ट्रम्पले टेलिफोन गरेको दाबी विपक्षीको छ ।

ट्रम्पले अमेरिकी तल्लो सदनमा पनि यही आरोपमा महाभियोग सामना गरेका थिए । विपक्षीले ट्रम्प प्रशासन र युक्रेनबीचका सम्पर्कसम्बन्धी थप दस्ताबेजहरू ह्वाइट हाउसबाट मगाउनु पर्ने संशोधन प्रस्ताव राखेका पनि ट्रम्प आवद्ध पार्टी रिपब्लिकनले त्यसलाई विफल तुल्याइदिएका हुन् ।

यसैबीच महाभियोग प प्रस्ताव छलफलका लागि सिनेटमा पेश गर्नुअघि विपक्षी दलका नेताहरुले अवरोध गरेपछि डेमोक्र्याट्स र रिपब्लिकनहबीच विवाद भएको छ । सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच म्याकोनेलले प्रस्ताव पेश गर्न रोकेपछि विवाद भएको हो ।

अमेरिकी मुख्य न्यायाधीश जोन रोबर्टले महाअभियोग प्रस्ताव अघि बढाउन निष्पक्ष भूमिका खेल्ने भन्दै सपथसमेत लिएको बीबीसीले जनाएको छ । अमेरिकी इतिहासमा राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता भएको यो तेस्रो घटना हो ।

सिनेटमा रिपब्लिकनहरुको बहुमत भएकाले महाअभियोग लगाउने प्रस्ताव पारित हुनेमा भने आशंका पैदा भएको छ । डेमोक्र्याट्सहरु उक्त मुद्दालाई लम्ब्याउन चाहेका छन् भने रिपब्लिकनहरु चाँडै नै मुद्दाको किनारा लगाउने पक्षमा देखिएका छन् ।