एजेन्सी - युएईमा जारी टी-१० लिगको सुपर लिगको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का सम्मिलित टिम आबु धाबीसँग अर्का नेपाली क्रिकेटर सन्दीप लामिछाने रहेको कर्नाटका टुसकेर्स पराजित भएको छ ।

शुक्रबार राति पारसको टिमले सन्दीपको टुसकेर्सलाई ३४ रनले पराजित गरेको हो ।आबु धाबीले दिएको १ सय २९ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा ६ विकेट गुमाएर ९४ रनमै समेटियो ।

कर्नाटकाका लागि रायन टेन डेस्काटेले अविजित ३२ रन जोडे । यस्तै कप्तान हसिम अमलाले १८ रन जोड्दा अहमेद राजाले १३ रन जोडे ।

आबु धाबीका हेडेन वाल्सले २ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आबु धाबीले १० ओभरमा २ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो ।

आबु धाबीका लुक राइटले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान मोइन अलीले ३५ रन जोड्दा वाएन म्याडसेन २० रनमा अविजित रहे ।

अन्तिम खेलमा पारस प्लेईङ सेटमा परेपनि ब्याटिङ गर्न पाएनन् ।कर्नाटकाका नाथन रिमिङटनले १ विकेट लिए । सन्दीप भने अन्तिम खेलमा बेन्चमा रहेका थिए ।यस्तै आबु धाबी र कर्नाटका दुवै टिम प्ले अफमा पुग्न सकेनन् । सुपर लिगमा पारसको टिम ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रह्यो । सन्दीपको टिम ३ अंक जोडेर पुछारमा रह्यो ।