काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कम्युनिष्ट पार्टी फुटिनसकेको र बैशाखमा चुनाव नहुने बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले नेकपा पार्टी कानुनी रुपमा नफुटेको र आधिकारिक कसले पाउँछ भन्नेबारे पनि विवाद हुने हुँदा बैशाखमा चुनाव नहुने स्पष्ट पारेका हुन् ।

‘अहिले नेकपा पार्टी कानुनी रुपमा फुटेको छैन । निर्वाचन आयोगले सुर्य चुनाव चिन्ह कसलाई आधिकारिक दिन्छ, नपाउने समुहले विरोध र अदालत जान्छ, यहि कारण पनि बैशाखमा चुनाव हुँदैन ।’ उनले भने ।

उनले कांग्रेसको पहिलो प्राथमिकता नै संसद् पुनःस्थापना रहेको बताएका छन् । ‘हाम्रो आग्रह संसद् पुनःस्थापनाका लागि हो”, कोइरालाले भने, “पहिलो प्राथमिकता संसद् पुनःस्थापना हु्नुपर्छ भन्ने हो ।’ प्रधानमन्त्री ओलीले संसद विघटन गरेर लोकतन्त्र र संविधानमाथि नै कुठाराघात गरेको उनको भनाई छ ।

त्यसैगरी पार्टी महाधिवेशन क्रियाशिल सदस्यताको नामावली सङ्कलन गर्न नसक्नु र अहिलेको राजनीतिक परिस्थितीले गर्दा समयमा हुन नसकेको उनले बताए ।