काठमाडौं - हैदराबादमा केही दिन अगाडि भएको भेटनरी डाक्टरको बलात्कारपछिको हत्याकाण्डमा पक्राउ परेका चारै जनाको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ ।

उनीहरुलाई अनुसन्धानका लागि क्राइम स्पटमा लगिएको थियो । तर, उक्त स्थानमा ती आरोपीहरुले प्रहरीलाई नै आक्रमण गरी भाग्ने प्रयास गरेपछि प्रहरीले इन्काउन्टर गरेको थियो ।

शुक्रबार बिहानै ३ बजे चारै जनाको एक मुठभेडमा मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ ।भारतभर नै निकै चर्चामा रहेको यो काण्डका कारण महिला सुरक्षालाई लिएर ठुलो प्रश्न खडा भएको थियो ।

सडक र सदनमा व्यापक विरोध भएको थियो । प्रहरीले अपराधीहरुलाई पक्राउ गर्न धेरै समय नलागे पनि महिला सुरक्षाबारे पुनः समिक्षा गर्नु पर्ने अवस्था आएको बताइएको थियो ।

आरोपीहरुले ती भेटनरी डाक्टरलाई बलात्कार गरी जिउँदै जलाएको बताइएको थियो । पोस्टमार्टम रिपोर्ट आएपछि देशभर नै यो काण्डले सबैलाई त्रसित बनाएको थियो ।