काठमाडौं - समाजमा बढ्दो चोरीका घटना धेरैको टाउको दुःखाईको विषय हुन्छ नै तर हुम्लाको उत्तरी भागमा पर्ने हिमालपारिको गाउँ लिमीले भने चोरी नै नहुने गाउँको परिचय बनाएको छ । चोरी गरे पाप लाग्छ भन्ने स्थानीय मान्यताले लिमीका तीनवटै गाउँमा चोरीका घटना नै नहुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

धन देखेपछि महादेवका तीन नेत्र उखान गाउँघरमा चलनचल्तीमा रहे पनि चोरी गर्नुलाई गम्भीर पाप गर्नुसरह मान्ने स्थानीय मान्यता छ । यसै मान्यताका कारण नाम्खा गाउँपालिकाको लिमीमा चोरीका कुनै घटना नहुने हल्जी गाउँका खेण्डाप तामाङले जानकारी दिए ।

चोरीका घटना नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पार्नुपर्ने मुलुकका अन्य भागको जस्तो अवस्था लिमी गाउँमा छैन । चोरीमुक्त भनेर चिनिएका लिमीका तीनवटा तिल, हल्जी र जाङ पर्छन् । यो कुनै नयाँ स्थापना गरेको मान्यता नभई परम्परादेखिकै कसैको कसैले चोरी गर्ने कुप्रवत्ति रहेको छैन । अन्नपात, लत्ता कपडादेखि भाँडाकुँडा पनि घरको आँगन तथा घरबाहिर नै राखिन्छ ।

चोरी नै नहुने भएपछि लिमीका तीनै गाउँमा घरका सामान आँगन र घरबाहिर राख्ने गरिएको वडाध्यक्ष पाल्जोर तामाङले बत(ाउनुहुन्छ । हिउँदको समयमा व्यापार तथा अन्य कामको क्रममा युवा सबै गाउँ बाहिर आयआर्जन गर्न जाने भएकाले गाउँमा बा(लबालिका र बूढाबूढी मात्र बस्ने स्थानीय बासिन्दा बताउँछन् । चोरीको घटना हुने भएको भए बढी समस्या हुने बताउँदै वडाध्यक्ष तामाङले चोरी नै नहुने भएपछि ढुक्कका साथ गाउँ बाहिर गएर काम गर्ने चलन रहेको बताउनुहुन्छ । वडाध्यक्ष तामाङ भन्छन्, ‘गाउँमा चोरी हुँदैन । युवा बाहिर गएर ढुक्कले काम गर्छन्, यहाँका मानिसलाई चोरी के हो थाहा छैन ।’

लिमीमा आफ्नै परम्परागत घर निर्माण हुने गर्छन् । ती घरमा कहिल्यै ताला लगाउने चलन नै छैन । चोरी नै नहुने भएपछि तालाको आवश्यकता नपरेको वडाध्यक्ष तामाङले बताए। यसका साथै मानिस हिँड्दा कुनै सामान खसेको भए फेला पार्नेले धेरैले चिनेको स्थानीय व्यक्तिलाई दिने चलन छ । उनीहरूले हराएको सामानबारे सार्वजनिक जानकारी दिन्छन् । त्यो समाज केही समयपछि नै सामान धनीले पाइहाल्छ । त्यसैले कुनै सामान हराए पनि नपाइएला भन्ने चिन्ता नहुने उनले बताए।

तुलनात्मक रूपमा लामा बस्तीमा चोरीका घटना कमै हुने भए पनि लिमी भने चोरीका लागि धेरै सुरक्षित बस्ती भएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । गाउँपालिकामा १८ वटा बस्ती रहेकोमा अन्य बस्तीमा फाट्टफुट्ट रूपमा चोरीका घटना हुने गरे पनि लिमीमा कुनै घटना नै नहुने उनले बताए।

जेठपछि लिमीमा बाहिरका मानिस आउजाउ गर्ने र जनावर चोरी सिकारीका घटना हुने गरेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय स्तरमा निगरानी राख्ने गरिन्छ । लिमीवासीमा जनावर तथा चराचुरुङ्गी मार्न पनि धार्मिक रूपमा राम्रो मानिँदैन । त्यसो भएका कारण हत्या हिंसाका घटना नहुने उनले बताए। चोरीका घटना नहुने भएपछि लिमीको सुनखानीमा पाँच महिना बस्ने प्रहरी चौकी कात्तिकपछि कुनै उजरीबिनै सिमकोट आउने गरेको स्थानीयवासीले जानकारी दिएका छन् ।  

गोरखापत्र दैनिकबाट