काठमाडौं - नेपालभित्रका सबै बैंकले प्रदान गरेको वित्तीय संस्थाको कार्डबाट जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिनबाट निशुल्क प्रयोग गर्न सकिने भएको छ ।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि एउटा बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्रको अरु कुनै संस्थामा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने भएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले कोरोना भाइरस संक्रमणबाट बच्न यस्तो सुविधा प्रदान गर्ने निर्णय गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले नोटबाट कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै बैंकिङ कारोबार गर्दा कार्ड तथा विद्युतीय माध्यमबाट मात्र कारोबार गर्न पनि आग्रह गरेका छन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसाेसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले शुक्रबार विज्ञप्ति निकालेर नोटको प्रयोग गर्दा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण फैलने डर भएकाले विद्युतीय कारोबार प्रणाली अपनाउन आग्रह गरेका हुन् ।

विज्ञप्तिमा अति-आवश्यक अवस्थामा बाहेक बैंकका शाखाहरुमा गएर भिडभाड नगर्न आग्रह गरिएको छ । इन्टरनेट, मोबाइललगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा कुनै शुल्क नलाग्ने बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।