काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरूको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन्। उनले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरूले कोभिड-१९ रोकथाम तथा नियन्त्रणको कार्यममा आलोचना गरेका भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस भन्ने शुभकामना दिएका हुन्। 

आज थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालको ६१औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारीविरुद्ध लड्न मति सप्रियोस् भन्दै शुभकामना दिएका हुन्। “आजको यो कृष्णअष्टमीको दिन मति बिग्रिएकाहरूका लागि पनि यो महामारीका विरुद्ध लड्नका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु। चाहे ती मेरा घरभित्र बसेका हुन् चाहे ती मेरा छिमेकमा बसेका व्यक्तिहरू हुन्। सरकारको आलोचना गरेर लडाईंको अभियानमा लागेको योद्धाहरूको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पुर्‍याउन सक्दैन।”

मन्त्री ढकालले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको बताए। कुनैबेला पीपीई भएन भने सामूहिक राजीनामा दिन्छौं भन्नेहरू अहिले चुप लागेको उनको टिप्पणी छ। त्यस्तै गीतबाट समेत सरकारको आलोचना गरिएको तर, अहिले त्यसको जवाफ सरकारले दिइसकेको उनको दाबी छ। अहिलेसम्म पीपीई र पीसीआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने उनले बताए। 

जस्तोसुकै गीत आएपनि त्यसको जवाफ सरकारले सिद्धान्तबाट नभई व्यवहारबाट दिने प्रष्ट पारे। “गीतहरू बदलिबदलि आउने छन्। एक जमना थियो पीपीई भएन भने हामी राजीनामा दिन्छौं भन्ने थियो। अब त्यसको अभाव छैन भनेपछि अहिले त्यसको गीत बजेन, त्यसपछि पीसीआर परीक्षणको गीत आयो”, उनले भने, “अब औषधिको आउनेछ र भेन्टिलेटरको गीतहरू आउनेछन्। ती गीतका भाकाहरूलाई पनि कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा सिद्धान्तमा होइन व्यवहारमा जवाफदेहिताका साथ जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी अहिले नेपाल सरकारले लिएको छ।”

मन्त्री ढकालले नेपालमा अहिलेपनि कोरोना संक्रमणको स्थिति नियन्त्रणभित्रै रहेको बताए। संक्रमणको अवस्था समुदायस्तरमा देखिएपनि नियन्त्रणको स्थितिमा नै रहेकोले आत्तिनु नपर्ने बताए।  अन्य मुलुकहरूको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका गरिएका कार्यहरू प्रभावकारी भएको बताए। महामारीको अप्ठेरोको यो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्न सबै पक्षलाई आग्रह समेत गरे।