काठमाडौं - नेपाल धितोपत्र बोर्डले बैंक खाता तथा डिम्याट खाता आवद्ध गरी धितोपत्र कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ।

धितोपत्रको दोस्रो बजार कारोबार पूर्णतया यान्त्रीकरण हुन नसकेको अवस्थामा यस प्रणालीमा सुधार गर्न आवश्यक देखिएको हुँदा बैंक खाता र डिम्याट खातालाई प्रणालीमा नै आवद्ध गरी कारोबार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको बोर्डले जनाएको छ।

बोर्डले २०७७ श्रावण १ गतेदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र रकम प्राप्त गर्ने र भुक्तानी दिने व्यवस्था गर्न भनेको छ।

लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खाता आवद्ध गरी स्वचालित कारोबार तथा राफसाफ कार्य गर्न नसकेको गुनासाहरु आइरहेको हुँदा लगानीकर्ताहरुले गरेको कारोबार स्वचालित रुपमा बैंक खातामा रकम तथा डिम्याट खातामा सेयर जम्मा÷खर्च हुने व्यवस्था गर्नुका साथै स्वचालित रुपमा नै कारोबार भएको दिन बैंक खाताबाट रकम प्राप्त गरी विभिन्न निकायहरुको कमीशन, कर, मूल्य सम्बन्धित निकायको खातामा सोही दिन स्वचालित रुपमा नै जम्मा हुन सक्ने व्यवस्था मिलाउन पनि बोर्डले निर्देशन दिएको छ ।