एजेन्सी - १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।

बुधबार पोखरा क्रिकेट रंगशालामा भएको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित हुन पुगेको हो ।

नेपालले दिएको ५० रनको झिनो लक्ष्य पछ्याएको बंगलादेशले मात्र ७.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो । बंगलादेशकी मुर्सिदा खातुन २१ र आयशा रहमानले १७ रनमा अविजित रहिन् ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर २ बलमा ५० रन बनाएको थियो । नेपालकी कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १३ रन बनाउँदा सोनु खड्काले १२ र इन्दु बर्माले १० रन जोडिन् । नेपालको ४ खेलाडी शुन्यमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । बंगलादेशकी रबिया खानले ४ विकेट लिईन् ।