काठमाडाैं - अमेरिकाको आक्रमणमा परी मृत्यु भएका इरानका उच्च सैन्य कमाण्डर कसिम सोलेमानीको अन्तिम संस्कार समारोहका सहभागीबीच भागदौड मच्चिंदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ ।

४८ बढी घाइते भएका छन् । जसका कारण सोलेमानीको अन्तिम संस्कार नै पछि धकेलिएको छ । अन्तिम संस्कारको समय पछि पुन: तोकिने अधिकारीहरुले बताएका छन् ।

 सोलेमानीको पार्थिव शरीर अन्तिम संस्कारका लागि जन्मथलो केर्मन पुर्‍याउँदा त्यहाँ हजारौं शुभेच्छुक भेला भइसकेका थिए । अन्तिम संस्कार प्रक्रियाका क्रममा पनि हजारौं उपस्थित थिए । 

सो क्रममा भागदौड मच्चिएको थियो । भागदौड मच्चिनुको कारण भने खुलेको छैन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा गत शुक्रबार सोलेमानीको इराकको बग्दाद विमानस्थल बाहिर मिसाईल आक्रमण गरी हत्या भएको थियो । 

सर्वोच्च नेता अयातोल्लाह खामेनी पछिका शक्तिशाली सोलेमानीको हत्यापछि तनाव बढेको छ । अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जाभेद जरिफलाई भिजा उपलब्ध नगराउने भएको छ ।

जसका कारण आगामी बिहीबार न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा सहभागी हुन नपाउने भएका छन् ।  सन् १९४७ मा भएको राष्ट्रसंघीय सम्झौता अनुसार बैठकमा सहभागी हुनका लागि विदेशी कूटनीतिज्ञलाई अनिवार्य अनुमति प्रदान गर्नुपर्छ, तर सुरक्षा, आतंकवाद र वैदेशिक नीतिका कारण भिजा दिन नसक्ने वासिङ्गटनले स्पष्ट पारेको छ ।

यसैबीच, अमेरिकाले आफ्ना सैनिक इराकबाट फिर्ता नबोलाउने स्पष्ट पारेको छ ।  सैनिक फिर्ता लैजानुपर्ने सुझाव सहितको अमेरिकी जेनरलको पत्र सार्वजनिक भएपछि अमेरिकाको रक्षा मन्त्रालयले सैनिक फिर्ता बोलाउने कुनै तयारी नभएको बताएको हो । 

जर्मनीले भने इराकमा सानो संख्यामा तैनाथ गरेको सैनिक फिर्ता बोलाएको छ । इरानले भने अमेरिकी सेना र रक्षा मन्त्रालयलाई आतंकवादी संगठनको संज्ञा दिंदै प्रस्ताव संसदबाट पारित गरेको छ । सेलेमानीले नेतृत्व गरेको सैन्य वललाई थप बजेट निकासा गर्ने प्रस्ताव पनि पारित गरेको बीबीसीले उल्लेख गरेको छ । 

बीबीसीबाट