काठमाडौं - फ्रेन्च लिग वानमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित निकालेको छ । शनिवार राति भएको खेलमा पीएसजीले ९ खेलाडीमा खुम्चिएको मोन्टपिलरविरुद्ध ५ गोल हान्यो ।

साविक विजेता पीएसजीलाई जिताउन पाब्लो साराबिया, एन्जल डी मारिया, केलियन एमबाप्पे र लेभिन कुर्जावाले एक–एक गोल गरे । मोन्टपिलरका डानिल कोङग्रेसले आत्मघाती गोल गर्दै पीएसजीलाई उपहार दिए । एसजीले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा २ गोल गरेको हो ।

खेलमा दिमित्री बेर्तौड र जोरिस चोर्टाडले रातो कार्ड पाउँदा मोन्टपिलर ९ खेलाडीमा खुम्चियो । यो जितसँगै शीर्ष स्थानको पीएसजीले २२ खेलबाट ५५ अंक जोडेको छ । पीएसजी दोस्रो स्थानको मार्सेली भन्दा १३ अंकले अघि छ । ३३ अंक जोडेको मोन्टपिलर भने लिगको अंक तालिकामा पाँचौं स्थानमा छ ।