एजेन्सी - चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले चीन र ताइवानबीच पुनस् एकीकरण भएर छोड्ने बताएका छन् ।

सोमबार बेइजिङमा सिआङशान फोरम उद्घाटन गर्दै रक्षामन्त्री फेङ्हेले यस्तो बताएका हुन् । ताइवान मुद्दालाई समाधान गर्ने कुरा नै चीनको प्रमुख राष्ट्रिय स्वार्थ र उद्देश्य रहेको समेत उनले बताए । चीन र ताइवानबीचको एकीकरणलाई संसारको कुनै पनि तागतले रोक्न नसक्ने फेङ्हेको भनाइ थियो ।

‘विश्वमा पुनर्एकीकरण हुन बाँकी रहेको प्रमुख मुलुक चीन मात्रै हो’, फेङ्हेले भने । ‘चीन र ताइवानबीच पुनर्एकीकरणको प्रश्न आजको आवश्यकता हो, चीनको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय स्वार्थ हो र सबै चिनियाँको चाहनालाई पूरा गर्ने उपयुक्त बाटो हो’, उनले थपे ।

पछिल्लो समय चीन र ताइवानबीच तनाव चर्कँदै गएको छ । चीनले ताइवानलाई आफ्नो भूमिको अखण्ड खण्ड भन्दै आएको छ । राष्ट्रपति सीले यसै वर्ष एक सन्देश जारी गर्दै ताइवानलाई जबर्जस्त चीनमा विलय गराउनुपर्ने समेत भनेका थिए । सिंगापुरमा वार्षिक रुपमा हुने शांग्रिला डाइलग फोरम जस्तै चीनले समेत सिआङशान फोरमको उद्घाटन गरेको हो ।