काठमाडौं - सत्तारूढ दल नेकपाका दुई अध्यक्ष छलफलमा बस्ने, आ–आफ्ना अडान कायमै राखेर उठने क्रम दोहोरिरहेकै छन् । बीचमा कहिले संवादहीनता हुने र फेरि छलफलको क्रम निरन्तर चल्ने नेकपाको नियति हो ।

आइतवार यता फेरि तीन दिन यही शृंखला चलिरहेको छ । मंगलवार पनि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहयोगी नेताहरू झलनाथ खनाल र सुवास नेम्बाङलाई साथमै लिएर साँझ एक घण्टा बालुवाटारमा छलफलमा बसे ।

पार्टीभित्रको विवाद समाधानको सूत्र खोज्ने उद्देश्यले आइतबार यता यिनै चार नेता दिनहुँ छलफलमा छन् । तर मंगलवारको छलफल भने दुई अध्यक्षका बीचमा चर्को भनाभनबाट शुरू भयो । सहभागी एक नेताका अनुसार, लगानी बोर्डको सीईओ नियुक्तिका विषयमा ओली–दाहाल भनाभन भएको हो । दाहाल र खनालले छलफलको शुरूमै सीईओ सुशील भट्टको नियुक्ति पार्टीसँग परामर्श र सल्लाह विनै गरिएको भन्दै बैठकमा आपत्ति जनाएपछि ओलीले पनि प्रतिरक्षा गरेका थिए ।

सोमवारको मन्त्रिपरिषद् बैठकले भट्टलाई लगानी बोर्डको सीईओ नियुक्तिको निर्णय गरेको थियो । दाहाल र खनालले भट्टको नियुक्तिले पार्टी र बालुवाटार गन्हाएको भनेपछि ओली प्रतिरक्षामा उत्रेका थिए ।  

‘लगानी बोर्डमा कस्ता मान्छेलाई नियुक्ति गर्नुभयो, के यो पार्टीमा कुनै परामर्श गर्नुभयो, पार्टीसँग सल्लाह भयो ?’ उनले सोधे । दाहालले सरकारले गर्ने यस्तै नियुक्तिले स्वेच्छाचारिताको सीमा नाघैकै नाघेको बताए । दाहाल र खनालले ठूला नियुक्तिहरूमा पार्टीलाई अटेर गर्ने संस्कार अझै नरोकिएको भन्दै विरोध गरेका थिए ।

ओलीले आवेदन र सिफारिसका आधारमा सरकारले नियुक्ति गरेको भन्दै दाहालको आपत्तिमाथि जवाफ फर्काएका थिए । त्यसपछि पनि दाहालसँगै वरिष्ठ नेता खनालले पनि प्रश्न गरे, ‘यो नियुक्तिले बालुवाटार पनि गन्हायो, पार्टी पनि गन्हायो । यस्तो खालको नियुक्ति बन्द गर्नुपर्‍यो ।’

ओली त्यसपछि झन् आक्रामक भए । ओलीले भने, ‘तपाईंहरूले के आधारमा त्यस्तो प्रश्न उठाउनुभयो ? तपाईंहरूलाई लागेको मान्छे भए ठीक अन्य भए सबै बेठीक, गन्हाउने ?’

दाहालले प्रधानमन्त्रीले ‘कमिसन एजेन्ट’लाई लगानी बोर्डमा नियुक्त गरेको आरोप लगाए । ओलीले कुनै तथ्य प्रमाण त्यस्तो नभएको बताए । उनले भने, ‘प्रतिस्पर्धाबाटै आएका, योग्य र सक्षम व्यक्तिलाई नै आफूले नियुक्ति दिलाएको हुँ, विरोध गर्नुको तुक छैन ।’

दाहालले थपे, ‘पत्रपत्रिकामा आएका छन् त बग्रेल्ती ? अनि यी विषयलाई वास्तै नगर्ने ? कि नियुक्तिमा झापाको खोज्ने, कि यस्तै विवादमा आएकालाई रोज्ने ? यसले पार्टी हित गर्दैन ।’

पत्रपत्रिकाले स्वार्थ समूहका आधारमा भट्टको बारेमा समाचार लेखेको पनि ओलीको जिकिर थियो । ‘कुन मिडियाले कसरी के आधारमा स्वार्थअनुसार लेखेका छन् भन्ने मैले बताइरहनु पर्ला र ? त्यो स्वार्थमा आधारित रहेर लेखिएका छन्, पत्रपत्रिकाको पछि कुदेर हुँदैन,’ ओलीले भने ।

केहीबेर निकै चर्काचर्की परेपछि दाहाल र खनालले पार्टी बैठक बोलाउने विषयमा मिति तोक्न ओलीसँग आग्रह गरे । ‘स्थायी समिति बैठक तुरुन्तै बोलाऔं, मिति तोक्यौं,’ दाहाल र खनालले ओलीसँग भने, ‘स्थायी समिति जारी छ । तुरुन्त बैठक आवश्यक पर्छ । स्थायी समितिको बैठक चालू छ, त्यसलाई सुचारु गरौं, त्यसको मिति तोकौं ।’ तर ओलीले स्थायी समिति बैठक बोलाउन मानेनन् ।

‘स्थायी समिति अब चल्दैन, अहिले, तपाईंहरूले चलाए पनि म आउँदिनँ, त्यस्तो बैठक वैधानिक हुन्न, सचिवालय बैठक बोलाऔं, त्यहीँबाट एउटा खाका बनाएर सहमति खोज्ने गरी जाऔं’, ओलीले फेरि उही कुरा दोहोर्‍याए । ‘सचिवालय बैठक नै हो बसे पनि अहिले बस्ने, स्थायी समितिको कुरा छोड्नुस्, सचिवालय बोलाऔं,’ ओलीले भने ।

दाहाल र खनालले ओलीको कुरा मानेनन् । उनीहरूले भने, ‘हामीलाई सचिवालयको बैठक बोलाउन आपत्ति छैन, तर चालू भइरहेको स्थायी समिति बैठकलाई स्थगित नगरी त्यसलाई सुचारु गरेर अनि आवश्यक पर्छ भने सचिवालयको बैठक पनि बीचमा राखे हुन्छ । तर पहिले स्थायी कमिटी बैठक राखेर जाऔं ।’ 

ओलीले त्यसमा सहमति जनाउँदै जनाएनन् । ‘अहिले स्थायी समिति कुनै अर्थमा पनि बस्दैन, केन्द्रीय समिति त झन् बस्ने कुरै छैन, बसे सचिवालय हो,’ प्रधानमन्त्रीले भने । दुवै पक्ष मंगलवार पनि उही तीन दिन यताकै विषयमा अडिइरहे ।

बुधवार साँझ ५ बजे फेरि छलफल गर्ने समझदारी गर्दै ओली दाहाल उठे । दाहालले प्रधानमन्त्रीसँगको छलफल अगाडि दिनभर पार्टी शीर्ष नेताहरूसँगको छलफल तीव्र बनाएका थिए ।

बिहानै उनले आफ्नै निवास खुमलटारमा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापासँग छलफल गरे । त्यसपछि थप केही स्थायी समिति सदस्यहरूसँग पनि भेटे । आफ्नै भित्रका असन्तुष्ट नेताहरू टोपबहादुर रायमाझीसहित वर्षमान पुन, देवेन्द्र पौडेल, मात्रिका यादवलगायत नेतासँग पनि दाहालले बिहान भेट गरेका थिए । उनलाई ११ बजेबाट बालुवाटारमा प्रधानमन्त्रीले आयोजना गरेको कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि सरकारले बोलाएको विज्ञहरूसहित छलफल मा निम्तो आए पनि सहभागी भएनन् । बरु दाहाल उपाध्यक्ष वामदेव गौतम भेट्न उनकै निवास भैंसेपाटी पुगे ।

ओलीले गौतमलाई भेटका लागि बालुवाटार बोलाएका थिए । बालुवाटार जानै लाग्दा आफ्नै निवासमा आएका अध्यक्ष दाहालसँग झण्डै पौने घण्टा गौतमले भेटवार्ता गरेर छोरा हरिशको नागपोखरीस्थित कार्यालयमा पुगेर गौतमले समय बिताए ।

तर दाहालको दौडधुप भने रोकिएन । उनले आफ्नै निवासमा दिउँसो वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालसँग पनि छलफल गरे । झण्डै १ घण्टा लामो तीन नेताको छलफल पछि खनाललाई बोकेर दाहाल बालुवाटार ओलीसँगको छलफलका लागि पुगेका थिए ।

 अन्नपूर्ण पोस्ट दैनिकबाट