एजेन्सी - विश्वका विभिन्न देशमा समेत गरी कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको प्राप्त एक समाचारमा जनाइएको छ ।

संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्याङ्कअनुसार यस भाइरसको प्रकोपबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १ लाख ६ हजार  पुगेको  छ ।

उक्त विश्वविद्यालयको तथ्याङ्कअनुसार यस प्रकोपबाट सङ्क्रमितहरुमध्ये अधिकांश चीनमा नै रहेको बताइएको छ । चीनमा मात्र यसका सङक्रमित करिब ८० हजार जना रहेको उक्त विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ । 

विश्वभर हाल कोरोना संक्रमितहरु १ लाखभन्दा बढी पुगेको समाचार विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ । 

अधिकारीहरुले विभिन्न देशबाट जारी गरेका सूचनाहरुको अध्ययनमा यस भाइरसको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको संख्या आइतबारसम्म ३ हजार ६०० नाघेको छ । यस भाइरसको सङ्क्रमण ९२ ओटा देशमा फैलिएको छ  । 

कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ५० जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ७ हजार १३४ जनामा कोरोना संक्रमण देखिएको शनिबार जनाइएको छ ।

कोरोना भाइरसबाट इटालीमा २३३ जनाको ज्यान गएको जनाइएको छ । त्यसैगरी गरी इटालीमा ५ हजार ८८३ जनामा यस रोगको सङ्क्रमण भएको पाइएको छ । 

इटालीका विभिन्न २२ वटा शहरमा यसको प्रकोप देखिएको छ । इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ । सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ । 

उता संयुक्तराज्य अमेरिकाको  फ्लोरिडामा यस प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण दुई व्यक्तिको मृत्यु भएपछि यहाँ पनि यस भाइरसबाट शिकार हुनेको संख्या १९ पुगेको बताइएको छ । संयुक्त राज्य अमेरिकामा ४४३ सय भन्दा बढी व्यक्तिमा यस भाइरसको सङ्क्रमण देखिएको छ । 

 यस भाइरसको प्रकोपबाट स्पेनमा पनि १० जनाको ज्यान गएको छ । शनिबार प्राप्त भएको एक समाचारमा त्यहाँ थप पाँचको मृत्यु भएको हो । स्पेनका स्वास्थ्य अधिकारीहरुले यस भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको संख्या ५२५ पुगेको छ । यहाँ पनि दिन प्रतिदिन यसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । 

स्पेनको म्याड्रिड सहरमा नै यसका संक्रमित भेटिएका छन् ।राजधानी म्याड्रिड सहरमा शुक्रबारसम्म १३७ वटा यस भाइरसका संक्रमितहरु उपचारमा रहेका छन् । उक्त सहरमा गएराति सम्म २४ घन्टाभित्रै दुई जनाको ज्यान गएको छ । 

यसैगरी प्राप्त समाचारमा यो भाइरसको संक्रमण नेदरल्याण्ड्समा पनि देखिएको छ । नेदरल्याण्ड्समा यसको प्रकोपबाट एकजना बृद्धको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 

उनीहरुका अनुसार शुक्रबार मात्र नेदरल्याण्ड्समा यस भाइरसबाट एकजना ८६ वर्षीय बृद्धिका ज्यान गएको छ । रोटेड्यामस्थित इकाजेआ अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

नेदरल्याण्ड्समा यो भाइरसको प्रकोपबाट ज्यान जानेमा उनी नै पहिलो व्यक्ति भएको अधिकारीहरुले जानकारी दिएका छन् । इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले यो संक्रमणबाट शनिबार साँझसम्ममा ५ हजार ८२४ जना संक्रमित रहेका छन् । यहाँ हरेक दिन नयाँ नयाँ संक्रमित थपिँदै गएका बताइएको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार केही दिनमात्र यता यहाँ १ हजार जनाभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरु ठूलो संख्यामा थपिँदै गएकोले अवस्था बडो चिन्ताजनक रहेको पाइएको समाचारमा जनाइएको छ ।