एजेन्सी - दिल्लीको पटियाला हाउस कोर्टले मंगलबार निर्भया सामूहिक बलात्कारका दोषीमाथि सुनाइ गरेको छ ।

अदालतले सामूहिक बलात्कारका ४ जना दोषीविरुद्ध  डेथ वारेन्ट जारी गरेको छ । चारैजनालाई जनवरी २२ गते बिहान सात बजे फाँसी दिइने छ । उनीहरुलाई ८ वर्षअघि दिल्लीमा भएको एक बलात्कार काण्डमा फाँसी दिन लागिएको हो ।

डेथ वारेन्ट जारी गर्नुपूर्व पटियाला हाउस कोर्टका न्यायाधीशले भिडियो कन्फेरेन्समार्फत् चारै जना अभियुक्तसँग कुरा गरेका थिए । सुनुवाइका क्रममा पीडित युवतीकी आमा र दोषी मुकेशकी आमा अदालतभित्रै रोएका थिए ।निर्भया काण्डमा अक्षय, मुकेश, विनय र पवनलाई यस अघि नै फाँसीको सजाय सुनाइएको थियो ।

सन् २०१२ डिसेम्बर १६ गते वर्षीया ज्योति सिंहमाथि सामूहिक बलात्कार भएको थियो । आफ्ना साथी अविन्द्र प्रताप पाण्डेसँगै फिल्म हेरेर फर्किने क्रममा उनलाई एक समूहले बलात्कार गरेको थियो । बलात्कार भएको १३ दिनपछि सिंहको मृत्यु भएको थियो ।

ज्योति र अविन्द्र राति ९ः४५ बजे बस चढेर घर फर्कँदै गर्दा बसमा रहेका ४ जनाले ज्योतिलाई बलात्कार गरेका थिए । बस चढेपछि बसमा रहेका ४ जनासँग अविन्द्रको भनाभन भएको थियो ।

भनाभनपछि अविन्द्रलाई उक्त समूह (दोषीहरु) ले कुटेर बेहोस बनाएका थिए । त्यसपछि ज्योतिलाई बसको पछाडि लगेर सामूहिक बलात्कार गरेका थिए ।

अभियुक्तहरूले बेहोसका ज्योति र अविन्द्रलाई चलिरहेको बसबाट बाहिर सडकमा फालेका थिए । उक्त घटनामा गम्भीर घाइते भएका अविन्द्र भने बाँच्न सफल भएका थिए तर उपचारका क्रममा ज्योतिको मृत्यु भएको थियो ।