काठमाडौं - शरीरमा रगत शुद्ध पार्ने प्रमुख अंग हो, मिर्गौला । यो बिस्तारै काम नलाग्ने हुँदै गएको धेरैलाई थाहा हुँदैन । मिर्गौलामा समस्या आउँदा सुरु–सुरुमा कुनै पनि लक्षण देखिँदैनन् । जब लक्षण देखापर्न थाल्छन् , त्यतिवेला मिर्गौला ६० देखि ७० प्रतिशतसम्म क्षतिग्रस्त भइसकेको हुन्छ ।

अर्थात् स्वस्थ छु भन्ने ठानिरहेका मानिसमा पनि मिर्गौलामा समस्या हुन सक्छ । गलत खानपान, प्रदूषित वातावरण र अस्वस्थ जीवनशैलीका कारण पछिल्लो समय मिर्गौलाका रोगी बढिरहेका छन् । त्यस्तै, उच्च रक्तचाप र मधुमेहको समस्यालाई बेवास्ता गर्ने व्यक्तिमा पनि मिर्गौला बिग्रने सम्भावना बढेर जाने गरेको छ ।  

पत्थरी

मिर्गौलामा साना बालुवाजस्ता पदार्थ, क्याल्सियमका टुक्रा, अक्सालेट, युरेट र फस्फोरस एकै ठाँउमा जमेर पत्थरी बन्छ । यी पदार्थका कारण पिसाबमा जम्छ र बिस्तारै आकार बढ्दै गएपछि पत्थरी बन्छ । मिर्गौलाको पत्थरी धेरै किसिमका हुन्छन् । शरीरमा पानीको कमीका कारण मिर्गौलामा पत्थरी हुने गर्छ । गर्मी मौसममा बस्ने तथा पानी कम पिउने मानिसमा मिर्गौलामा पत्थरी हुने समस्या बढी देखिने गर्छ । त्यस्तै, धेरै तातो वातावरणमा लामो समयसम्म काम गर्ने मानिसमा समेत पत्थरीको समस्या हुन्छ ।

जस्तै, होटेलको भान्सामा लामो समय बिताउने, तातो वस्तुहरूको सम्पर्कमा रहने अधिकांश व्यक्तिमा मिर्गौलामा पत्थरी हुन सक्छ । शरीरमा क्याल्सियमको मात्रा बढी भएमा समेत पत्थरीको सम्भावना रहन्छ । 

क्यान्सर 

मिर्गौलामा क्यान्सर हुनुको कारण अहिलेसम्म पत्ता लागेको छैन । सामान्यतया मिर्गौलामा क्यान्सर भएको अधिकांश मानिसलाई थाहा हुँदैन । अन्य रोगको परीक्षण गर्दा मात्र मिर्गौलामा क्यान्सर भएको थाहा हुन्छ । क्यान्सर भएका मानिसको पिसाबमा रगत देखापर्छ । क्यान्सर भइसकेको लामो समयपछि मात्रै अन्य लक्षण देखिन्छन् । क्यान्सर भएमा कोखामा डल्लो देखिने तथा कतिपयमा कोखा अत्यधिक दुख्ने हुन्छ । 

संक्रमण

कुनै पनि कीटाणुले आक्रमण गरेमा मिर्गौलामा संक्रमण हुने गर्छ । जसको मुख्य कारण पिसाब संक्रमण हो । पिसाब फेर्दा फर्केर मिर्गौलामा गएमा पनि संक्रमणको सम्भावना उच्च रहन्छ ।

त्यस्तै, क्षयरोगका बिरामीमा पनि मिर्गौला संक्रमण हुन सक्छ । फोक्सोमा क्षयरोग भए रगतको माध्यमबाट मिर्गौलामा संक्रमण पुग्न सक्छ । संक्रमण भएमा ज्वरो आउने, कोखा दुख्ने, पिसाब पोल्ने, छिनछिनमा पिसाब आउने तथा पिसाब गनाउनेजस्ता लक्षण देखापर्छन् । 

 जोगाउने उपाय

 स्वस्थ मानिसले वर्षमा एकपटक अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्छ । पिसाब र रगतको परीक्षणबाट मिर्गौलामा समस्या भएरनभएको पत्ता लगाउन सकिन्छ ।

त्यस्तै, अल्ट्रासाउन्डको माध्यमबाट परीक्षण गरेर मिर्गौलामा आउन सक्ने सम्भावित समस्याबाट बच्न सकिन्छ । सुरुवाती चरणमै रोग पत्ता लगाएर समयमै उपचार गरेमा मिर्गौला फेल हुनबाट बचाउन सकिन्छ ।  

 नियमित व्यायाम गर्ने, मधुमेह र रक्तचापका बिरामीले नियमित स्वास्थ्य परीक्षण गराएर नियन्त्रणमा राख्ने गर्नुपर्छ । फास्ट फुड र जंकफुड, रातो मासु, अत्यधिक नुन र धेरै प्रोटिन भएका खानेकुरा सकेसम्म नखाने वा कम खाने गर्नुपर्छ ।  

नयाँ पत्रिकाबाट