काठमाडौं - काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि १६ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याएको छ ।

बुधबार काठमाडौंमा आयोजित बजेट नगरसभाको सातौँ अधिवेशनमा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले उक्त आकारको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

महानगरपालिकाले आर्थिक बिकास क्षेत्रका लागि १७ करोड २३ लाख विनियोजन गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार विनियोजन भएको छ । यस्तै, पूर्वाधार बिकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट विनियोजन गरिएको छ । सामाजिक बिकास क्षेत्रका लागि महानगरले २ अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरेको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु. ९६ करोड ३० लाख बजेट विनियोजन भएको छ । शसर्त अनुदान तर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार विनियोजन गरेको छ ।

बजेट व्यवस्थापनमा नेपाल सरकार तथा प्रदेश सरकारबाट निशर्त अनुदानवापत १ अर्ब ४२ करोड, सशर्त अनुदानवापत २ अर्ब ५७ करोड उपलव्ध हुने महानगरको अनुमान छ । त्यस्तै बैंक मौज्दात ३ अर्ब ५० करोड रहेको महानगरले जनाएको छ। सामाजिक सुरक्षा भत्ता बापत १ अर्ब २० करोड, जग्गा एकीकरणबाट ९६ करोड ८ लाख २६ हजार गरी कुल ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने महानगरको प्रक्षेपण छ ।