काठमाडौं - र्‍यापर भिटेन उर्फ समिर घिसिङ पुनः विवादमा तानिएका छन् ।

हालै मात्र सार्वजनिक भएको भिटेनको ‘पारा’ बोलको नयाँ र्‍याप भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएपछि पुनः विवादमा तानिने भएकाे हाे । हाल उक्त भिडियो नेपालको युट्युबमा टेन्ड्रिङको पहिलो नम्बरमा छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रहरी प्रधान कार्यालय नक्सालले र्‍यापमा अश्लिल शब्दहरू प्रयोग भएकोले अनुसन्धान गरी आवश्यक देखिएमा कारवाही गर्ने भन्दै केन्द्रीय साइवर व्यूरोलाई पत्राचार गरेको छ ।

भिडियो प्रहरीलाई मात्र नभएर नेपाली समाजलाई समेत असभ्य हुने खालको देखिएको एसएसपी कडायतको भनाई छ ।  भिडियोमा प्रहरीको गाडी विस्फोट पनि गराएको देखाइएको छ । 

यसअघि पनि भिटेन प्रहरीमाथि अश्लील गालीगलौज गरेको भन्दै पक्राउ परेका थिए । उनलाई प्रहरीले भिडिओ डिलिट गर्न लगाउनुका साथै त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा रिहा गरेको थियो ।