काठमाडौं - विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको आज राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ ।

कीर्तिमानी आरोही शेर्पाको आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । शेर्पाको अन्त्येष्टिमा सशस्त्र प्रहरीको एक टुकडीले सलामी दिएको थियो ।

शेर्पाको ५ असोजमा आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शेर्पाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको थियो ।

‘हिमचितुवा’ को उपमा पाएका उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटकपटक आरोहण गरेका थिए ।