काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णालीका नेताहरुलाई भेटेका छन् ।

शनिबार प्रधानमन्त्री निवासमा बालुवाटारमा ओलीले पछिल्लोसमय कर्णालीमा उत्पन्न पार्टीको आन्तरिक राजनीतिक विवादबारे मुख्यमन्त्री महेन्द्रबहादुर शाही र असन्तुष्ट पक्षसँग भेटेर छलफल गरेका हुन् । भेटमा प्रधानमन्त्री ओलीले नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिएका छन् ।

‘हामी अध्यक्षद्वय बसेर छलफल गर्छौं र एउटा निष्कर्ष निकाल्छौं, त्यसलाई तपाईंहरुले मानेर जानुपर्छ’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले बताए ।  छलफलमा नेताहरुले आ-आफ्नो धारणा राखेका थिए ।

सांसद यामलाल कँडेलको अगुवाइमा प्रदेशका १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद सतहमा आएको थियो । त्यसपछि मुख्यमन्त्री शाहीले मुख्य सचेतक गुलावजंग शाहलाई हटाएर सीता नेपालीलाई नियुक्त गरेका थिए ।

विवाद देखिएपछि नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले दुवै पक्षलाई काठमाडौं बोलाएका थिए । आजको छलफलमा प्रचण्डलाई बोलाइए पनि सहभागी भएका थिएनन्।